स्वस्थ
रहने भन्नासाथ हामी शरीरको तौल नियन्त्रण गर्ने र मोटोपना घटाउने कुरा
मात्रै गर्छौं । तर, स्वस्थ, जवान र चुस्त रहनको लागि मोटोपना घटाउनुमात्रै
पर्याप्त छैन भन्ने कुरा बिर्सिदिन्छौं । हाम्रो शरीरका भित्री अंगहरुको
हिफाजत पनि उत्तिकै आवश्यक छ ।
शरीरभित्रको अति महत्वपूर्ण एक अंग हो
मुटु । शरीरका प्रत्येक अंगमा आवश्यक रगतको आपूर्ति गर्ने काम यसले गर्छ
त्यसैले यसलाई स्वस्थ राख्न आवश्यक छ । तर, अहिलेको तनावयुक्त व्यस्त
जीवनशैलीका कारण मुटुरोगीहरु बढिरहेका छन् । पहिले पाको उमेरका मानिसहरुलाई
मात्रै हुने मुटुसम्बन्धी समस्याले अहिले युवाहरुलाई पनि आफ्नो चपेटामा
पार्न थालेको छ ।
मुटु स्वस्थ राख्न हामीले पहिले त तनाव हटाउनुपर्छ ।
त्यसपछि सक्रिय जीवनशैली अपनाएर र स्वस्थकर भोजन गरेर हामी मुटुलाई हिफाजत
गर्न सक्छौं । यहाँ हामी मुटुलाई स्वस्थ राख्ने विभिन्न उपायहरुको चर्चा
गर्दैछौं ।
भोजनमा फ्याट
फ्याट अर्थात बोसो हाम्रो भोजनको महत्वपूर्ण तत्व हो । यसले हाम्रो खानालाई स्वादिष्ट बनाउनुको साथसाथै तृप्त पनि बनाउँछ ।
स्वस्थ
रहनको लागि असल फ्याट र खराब फ्याटको अन्तरलाई सही किसिमले बुझ्नुपर्छ ।
‘द अमेरिकन हार्ट एसोसिएसन’ ले स्वस्थ रहनको लागि खानपानमा खराब
(स्याचुरेटेड) फ्याटलाई असल (अनस्याचुरेटेड) फ्याटले विस्थापन गर्ने सल्लाह
दिएको छ । राम्रो स्वास्थ्यको लागि हामीले भोजनमा मोनो स्याचुरेटेड वा
पोली स्याचुरेटेड फ्याट समावेश गर्नुपर्छ । पोली स्याचुरेटेड फ्याटले रगतमा
खराब कोलस्ट्रोलको स्तरलाई कम गर्छ जसको कारण मुटुसम्बन्धी रोगहरु र
स्ट्रोकको खतरा कम हुन्छ ।
यसबाहेक फ्याटले शरीरमा कोषहरु बन्न र विकसित
हुन पोषक तत्व पनि प्रदान गर्छ । खानामा यस्तो तेलको प्रयोग गर्नुहोस्
जसमा स्याचुरेटेड फ्याटको मात्रा कम होस् । यसको लागि तपाईं मकै, जैतुन,
बदाम, सोयाबिन वा सनफ्लावरको तेल प्रयोग गर्न सक्नुहुन्छ ।
लाभकारी माछा
माछा प्रोटिनको सबैभन्दा राम्रो स्रोत हो । अन्य मासुजन्य पदार्थको तुलनामा यसमा स्याचुरेटेड फ्याटको मात्रा निकै कम हुन्छ ।
माछा
ओमेगा फ्याटी एसिडको पनि राम्रो स्रोत हो । ईपीए र डीएचएजस्ता ओमेगा ३ ६ ९
फ्याटी एसिडहरु हाम्रो शरीरको लागि धेरै आवश्यक छन्, किनभने हाम्रो शरीरमा
यसको निर्माण हुँदैन । यसलाई खानाको माध्यमबाट नै ग्रहण गर्न आवश्यक छ ।
यसका शाकाहारी स्रोतहरु ओखर, बदाम र सोयाबिन हुन् ।
ओमेगा ३ ६ ९ फ्याटी
एसिडले शरीर सुन्निन (इन्फ्लेमेसन० कम गर्छ । इन्फ्लेमेसनको कारण रक्तनली
क्षतिग्रस्त हुन्छ जसको कारण हृदयरोग वा स्ट्रोकको खतरा बढ्छ । साथै, यसले
मुटुको धड्कनको उतारचढावलाई पनि नियन्त्रण गर्छ र मुटुलाई सुरक्षित राख्छ ।
केही
समय अघि १५ सय वयस्क मानिसहरुमा गरिएको एक अध्ययनबाट ओमेगा ३ ६ ९ फ्याटी
एसिड मष्तिस्कका लागि आवश्यक भएको पुष्टी भएको छ । अध्ययनअनुसार बच्चामा
मष्तिस्कको सही विकासको लागि ईपीए र डीएचए आवश्यक छ । ओमेगा ३ ६ ९ फ्याटी
एसिडले एकाग्रता बढाउन र कठिन कार्यहरु गर्ने क्षमता बढाउनमा पनि मद्दत
गर्छ ।
हृदयरोगबाट पिडित मानिसहरु खानाको माध्यमले पर्याप्त ओमेगा ३
प्राप्त गर्न सक्दैनन् । यस्ता मानिसहरु डाक्टरको सल्लाह लिएर ‘सप्लिमेन्ट’
ग्रहण गर्न सक्छन् । यसैले कुनै पनि खाद्य पदार्थ ग्रहण गर्दा त्यसमा
पोषणको स्तर जाँच्नुहोस् र त्यसमा स्याचुरेटेड फ्याटी एसिडहरुको मात्रा कति
छ भन्ने पनि ख्याल गर्नुहोस् ।
कसरी जोगिने मुटु रोगबाट ?
मुटुरोगबाट
जोगिनका लागि कम उमेरदेखि नै ध्यान पुर्याउनुपर्छ । युवावस्थामा
मुटुसम्बन्धी रोग लाग्ने प्रमुख कारण धुम्रपान वा सुर्ति सेवन हो । यसलाई
बन्द गर्न आवश्यक छ ।
यसबाहेक शारीरिक रुपले आफूलाई सक्रिय राख्नुपर्छ । तौल बढ्न नदिनु पनि उत्तिकै महत्वपूर्ण छ ।
सफ्ट
ड्रिङ्क्स, प्याकेटका जुस आदिको सेवन पनि गर्न कम गर्नुहोस् । सातामा एक
पटकभन्दा बढि फास्टफुड वा प्रशोधित खानेकुराहरुको सेवन नगर्नुहोस् । खानामा
फलफूल र हरियो सागसब्जीको मात्रा बढाउनुहोस् ।
दैनिक एकमुठ्ठी बदामको
सेवन गर्नाले मुटुको स्वास्थ राम्रो हुन्छ । बदामले मुटुलाई स्वस्थ बनाउन
आवश्यक मिनरल्स र फ्याटी एसिड प्रदान गर्छ ।
मुटुलाई सँधै जवान राख्नको
लागि मानसिक तनाव कम गर्न पनि आवश्यक छ । यसको लागि योगा, एक्सरसाइज र
मष्तिस्कलाई शान्त बनाउने अरु उपाय अपनाउनुहोस् ।
कम उमेरमा हृदयघात
एक
अध्ययनअनुसार पश्चिमी देशहरुको तुलनामा दक्षिण एसियामा बस्ने मानिसहरुलाई
१० वर्ष पहिले नै मुटुरोग लाग्ने गर्छ । कम उमेरमा हृदयघात हुनुमा वंशाणुगत
कारणहरु पनि जिम्मेवार छन् ।
निष्कृय जीवनशैली, तनावपूर्ण काम, धुम्रपान, मदिरापान, चिनीयुक्त खानेकुरा र फास्टफुडको अत्याधिक सेवन यसका अन्य कारण हुन् ।
No comments:
Post a Comment